दोस्रो चौमासिक प्रगति समीक्षा जारी, परिणाम देखिने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

माण्डवी न्युज
माण्डवी न्युज १४ चैत्र २०७९, मंगलवार
3 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम जारी छ । सोमबारदेखि सुरु भएको समीक्षा कार्यक्रममा मंगलबार पनि मन्त्रालयगत समीक्षा गरिएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावि कार्यक्रमका बारेमा मन्त्रालयका सचिवहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको छ ।

दोस्रो दिन वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रगति विवरण प्रस्तुत गरेका छन् ।
समीक्षा कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव उद्दवबहादुर घिमिरेले मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको छ ।

चालु आर्थिक वर्षमा २ अर्ब २१ करोड ७ लाख बजेट विनियोजन गरिएको भन्दै सचिव घिमिरेले फागुन मसान्तसम्म ६७ करोड ४९ लाख ९६ हजार रुपैया मात्र खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार वन तथा वातावरण मन्त्रालयको वित्तिय प्रगति ३३.३९ प्रतिशत मात्र रहेको छ ।

त्यस्तै उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामहरि ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार मन्त्रालयले हालसम्म २४.६९ प्रतिशत वित्तिय प्रगति गरेको छ । चालु आर्थिक वर्षमा ६८ करोड १८ लाख ७९ हजार रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव ज्ञवालीले १६ करोड ८४ लाख ११ हजार रुपैया खर्च भएको बताउनुभयो ।

त्यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २०.५१ प्रतिशत मात्र वित्तिय प्रगति गरेको सचिव यामनारायण देवकोटाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २ अर्ब ४७ करोड ९५ लाख ७ रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव देवकोटाले हालसम्म ५० करोड ८७ लाख ३७ हजार रुपैया मात्र खर्च भएको बताउनुभयो ।

त्यस्तै समीक्षा कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालयले हालसम्म २९.८ प्रतिशत मात्र वित्तिय प्रगति हासिल गरेको जानकारी दिनुभयो । उहाँका अनुसार १० करोड ७३ लाख ८४ हजार रुपैया बजेट विनियोजन गरेको मन्त्रालयले ३ करोड २० लाख १८ हजार रुपैया मात्र खर्च भएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री लिला गिरीले परिणाम देखिने गरी कार्य सम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । प्राकृतिक स्रोत साधन र खानीजन्य वस्तुहरुको प्रयोगबाट प्रदेशको समृद्धिको मार्ग कोर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले प्रकृति नबिग्रने गरी स्रोत साधनको प्रयोग गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । ‘प्राकृतिक स्रोत साधन र खानीजन्य वस्तुहरु हाम्रा सम्पत्ती हुन् । स्रोत साधनको प्रयोग नगर्दा त्यतिकै खेर गइरहेका छन् ।

यस्तो अवस्थामा सरकारले प्रकृति नबिग्रने गरी स्रोतसाधनको प्रयोग गर्ने नीति बनाउनुपर्दछ’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘धेरै प्राकृतिक स्रोतसाधनमा हाम्रो ध्यान पुगेको छैन । ढोरपाटन आरक्षको अधिकांश क्षेत्र हाम्रो प्रदेशमा पर्छ । हाम्रो ध्यान नपुग्दा गण्डकी प्रदेशले एक्लै त्यसको प्रयोग गरिरहेको छ । नदीजन्य, वनजन्य, खानीजन्य स्रोत परिचालनका लागि आवश्यक ऐन निर्माण गरेर अगाडि बढ्नुपर्दछ ।’

प्रदेश सरकारले आगामी बजेटमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष सम्बोधन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हामीले प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्दछ । कृषिका लागि मल उद्योग सञ्चालन गर्ने योजना अगाडि बढाउनुपर्दछ ।

त्यस्तै कागज उद्योग, कृषिमा आधारित उद्योगहरु सञ्चालन गर्ने योजना बजेटमा समावेश गर्नुपर्दछ । यसले कच्चा पदार्थको खपत र रोजगारी सिर्जना गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

Array