लोकतन्त्रको सुदृढीकरणमा नागरिकको भूमिका

माण्डवी न्युज
माण्डवी न्युज १२ बैशाख २०८०, मंगलवार
6 Min Read
Aa

२०६३ बैशाख ११ गतेदेखि लोकतन्त्र दिवस मनाइदै आएको छ । राजनीतिक शासनप्रणालीमध्ये उत्कृष्ट शासनप्रणाली मानिने लोकतान्त्रीक शासनप्रणालीमा पनि मुलुकको विकास ठिक ढंगबाट अगाडि बढ्न सकिराखेको छैन ।
लोकतान्त्रिक शासन प्रणालीका लागि लामो संघर्ष गरेका नेताहरुले मुलुकमा लोकतन्त्र ल्याए । जनतालाई सार्वभौम बनाए तर बिडम्वना जनचाहना अनुसार काम गर्न उनीहरुले सकिराखेका छैनन् ।
लोकतान्त्रिक शासन प्रणालीमा राजनीतिक दलको भूमिका मह्त्वपूर्ण हुने गर्दछ । लोकतन्त्रलाई हाक्ने भनेको राजनीतिक दलले हो । उनीहरुलाई हाक्नको लागि इन्धन वा उर्जा दिने नागरिकले हो ।
यतिबेला नागरिकहरु पनि अलमल परिरहेका छन् । कसलाई उर्जा दिदा मुलुकको विकास ठिक ढंगसँग अगाडि बढ्छ भनेर । त्यसैले चुनावहरुमा आलोपालो गरेर मत दिएका छन् । अहिले स्थापित भनिएका दलहरु नेपाली कांग्रेस, एमाले, माओवादीलाई पटक पटक नागरिकहरुले उर्जा दिइरहेका छन् । त्यो उर्जालाई दलहरुले सही ढंगले प्रयोग गर्न सकेनन् । त्यो उर्जाको कतिपय अवस्थामा दुरुपयोग भएको समेत देखिएको छ । नागरिक मत केही बढि पाएको दम्भमा लोकतन्त्रका आधारभूत मान्यताहरुमाथि हमला गर्ने काम स्वयम राजनीतिक दलको नेतृत्वबाट भएका घटना छिपेका छैनन् ।
लोकतन्त्र भनेको एउटा संस्कृति पनि हो । दलहरुबीचमा आपसी प्रतिस्पर्धा हुन सक्छ । तर राष्ट्रियता तथा जनजीविकाको सवालमा एकमत हुनुपर्दछ । तर यस्तो अवस्था आएको प्रायः देखिएन । दलहरु सत्तामा गएर जनताको काम गर्ने हो । सत्ता साधन पनि हो । सत्तामा जाने आकांक्षा हुनु दलको स्वभाविक आकांक्षा हो । तर जसरी पनि सत्तामा जानु चाहि गलत हो ।
सत्तालाई राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्र बनाएर आवधिक रोजगारी दिने र त्यो दिएवापत कमिशन खाने चक्करमा दलका नेताहरु लागेको देखिन्छ । राजनीति आदर्श हुनुपर्ने हो तर यसको विपरित राजनीति द्रव्य उन्मुख भएको छ । पैसाले जे पनि गर्न सकिने भएका कारण दलीय नेतृत्व पैसा जोड्न लागिपरेको देखिन्छ ।
दलका नेताहरुको आचरण समाजमा पनि अनुकरणीय हुन्छ । एउटा नेताले जस्तो आचरण देखायो ऊ बस्ने समाजका मानिसले उस्तै खालको आचरण अनुकरण गर्ने सम्भावना बढि हुन्छ । अहिले हामी दलका नेतृत्व पैसा जम्मा गर्न लागेपछि ऊ मुनिका कार्यकर्तालाई त्यो रहर लाग्नु पनि स्वभाविकै हो । कार्यकर्तालाई त्यो रहर जागेपछि त्यो सर्वसाधारण नागरिकसम्म पुगिसकेको छ ।
राजनीतिक दललाई नियन्त्रण गर्ने भनेको आवधिक निर्वाचन हो । आवधिक निर्वाचनमा दलले विचार सिद्धान्तले प्रभाव पार्न नसकेपछि सत्तालाई जसरी पनि लिने भनेर कम्युनिष्ट दुई ठूला पार्टी एमाले माओवादी एक भए । कुकुर विरालो झै गर्ने यी दुई ठूला दल मिलेपछि नागरिकमा पनि उत्साह आयो उनीहरुले राजनीतिक स्थिरताको नाममा नेकपालाई मत दिए । नेकपाले निर्वाचनमा झण्डै दुई तिहाइको नजिक बहुमत पनि प्राप्त ग¥यो । तर ती दुई दल सत्ता स्वार्थका कारण एउटै हुन सकेनन् । यी दलमध्येको एक माओवादी अहिले सरकारमा छ । मुलुकको ठूलो दल कांग्रेसँग गठवन्धन गरेर पुस्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका छन् ।
एउटै दलको सरकार त पूरा पदावधि टिक्न नसकेको हाम्रो मुलुकमा यति धेरै दल मिलेर बनेको सरकार कति अवधि टिक्ला भन्ने संशय पैदा भएको छ । प्रदेश सरकारहरु बन्ने र ढल्ले क्रम चलिरहेको छ । चार महिना नपुग्दै सरकार ढल्ने बन्ने प्रक्रियाले हाम्रो मुलुकको विकासलाई कहाँ पु¥याउँछ ? यो प्रश्नको उत्तर आम नागरिकले खोजिरहेको अवस्था छ ।
राजनीतिक गर्न धेरै कुरा गुमाउनुपर्दछ । राजनीति अन्य कामको तुलनामा अलि अप्ठेरो काम पनि हो । यस्तो जटिल काम गर्न जो पायो त्यही अग्रसर हुँदैन । तर दलका केही नेताहरुको गत क्रियाकलापले समग्र नेताहरुलाई नै बदनाम गराउने स्थिति अहिले सिर्जना भएको छ ।
कतिपय राजनीतिक दल त शासनप्रणाली नै ठिक नभएको जिकिर गर्दछन् । यस्तो जिकिर भनेको आकाशको फल आँखा तरेर मर भन्ने नेपाली उखान जस्तै हो । किनभने हामीले दलीय नेतृत्वलाई सबैभन्दा सहज रुपमा नागरिकले नियन्त्रण गर्न सक्ने शासन प्रणाली अवलम्वन गरेका छौं । लोकतन्त्रमा जस्तो दलीय नेतृत्व फेर्न अन्य शासन प्रणालीमा नागरिकको भावना अनुसार सजिलो छैन ।
मुलुकको समृद्धि र राजनीतिक क्षमता भन्दा पनि यसलाई व्यसाय बनाउने होड चलेको छ । एउटा असल राजनीतिज्ञले पारिवारिक मोहलाई जनताप्रतिको मोहमा बदल्न सक्नुपर्दछ । घरको व्यवस्थापनलाई देशको व्यवस्थापनमा बदल्न सक्नुपर्दछ । यसो गर्न त्यो शीप भएका मानिसलाई अवसर दिनुपर्दछ । तर अहिले राजनीतिले शीप दक्षता भन्दा पनि कसको नजिक छ, भन्ने कुरालाई आधार बनाइन्छ । यसो गर्दा राजनीतिप्रति नागरिकको अविश्वास बढ्दै गइराखेको छ । यसका पात्रहरु माथि टिप्पणी हुन थालेका छन् ।
यसैको प्रतिफल स्वरुप स्थापना भएको छोटो समयमा नै राष्ट्रिय स्वतन्त्र पार्टीमा मानिसहरुको आकर्षण बढेको देखिन्छ । पुराना स्थापित राजनीतिक दलमा वर्षौ टिकेको विश्वास यो नयाँ दलमा कति टिक्ने हो त्यो थाहा छैन तर पुराना दलले विकर्षण गरेका मतदाता अहिले रास्वपातर्फ आकर्षित भएका छन् ।
लोकतन्त्रलाई चुनौति भनेको दलका कार्यकर्ता धेरै हुनु पनि हो । त्यसो भएका कारण कार्यकर्ताको आधारमा राजनीतिक दलको शक्ति नापिन्छ । कार्यकर्ताले मत दिएकै आधारमा पनि कुनै दलले विजय प्राप्त गर्ने अवस्था आयो भने मुलुकको विकास किन चाहियो । दलको र दलको नेता कार्यकर्ताको विकास भए त पुगिहाल्यो । कार्यकर्ता जोगाउन सके , केही गर्नुपरेन । यही रोगले अहिलेको नेपाली राजनीतिलाई गाजेको छ ।
लोकतन्त्रलाई सुदृढ गर्न कार्यकर्ता घटाउने र गुण र दोषको आधारमा निर्वाचित वा पराजित गर्ने अवस्था सिर्जना हामीले गराउन सक्यौ भने मात्र आवधिक निर्वाचनले सही नेतृत्व चयन गर्न सक्छ । जुनसुकै दल भए पनि योग्य व्यक्तिलाई मतदान गर्ने राजनीतिक संस्कार लोकतन्त्रलाई लागि अपरिहार्य हुन्छ । त्यो अपरिहार्यतालाई नागरिकले बुझे भने राजनीतिक दललाई सही नेतृत्व चयन गर्न दवाव सिर्जना हुन्छ । यस्तो दवावका केही सकारात्मक पहलहरु नागरिकबाट देखिन थालेका छन् । लोकतन्त्र दिवसको अवसरमा अलोकतान्त्रीक बनेका राजनीतिक दललाई लोकतान्त्रीकरण गर्न जनदवाव सिर्जना गरौं । लोकतन्त्र दिवसको शुभकामना! माण्डवी साप्ताहिकबाट।

प्रतिक्रिया दिनुहोस्

Array