पैगम्बर बिरुद्ध विवादास्पद अभिव्यक्तिमा भारतका विभिन्न स्थानमा प्रदर्शन, नुपुर शर्माको राजीनामा माग

माण्डवी न्युज
माण्डवी न्युज २७ जेष्ठ २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको भन्दै अहिले भारतमा हिंसात्मक प्रदर्शन भइरहको छ।

शुक्रबारको नमाजपछि भारतका धेरै सहरमा विरोध प्रदर्शन भएको छ। धेरै सहरमा प्रहरीमाथि ढुंगामुढा पनि भएको थियो। भीड हटाउन र्यापिड एक्सन फोर्सले अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

प्रदर्शनकारीले सडकमा पार्किङ गरेका धेरै रिक्सामा आगजनी गरेका छन्। हैदरावादको मक्का मस्जिदबाहिर मानिसहरूले प्रदर्शन गरेका छन्। राजधानी दिल्लीको जामा मस्जिदबाहिर पनि प्रदर्शनकारीले हातमा पोस्टर र ब्यानर बोकेर नाराबाजी गरिरहेका छन्।

यसैबीच सहारनपुरमा सडकमा विरोध प्रदर्शन भइरहेको छ। केहीले हातमा ब्यानरसँगै झन्डा पनि बोकेका छन्। लखनउका मस्जिदहरूमा पनि मानिसको भीड जम्मा भएको छ।

लखनउको मस्जिद बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ। प्रहरीले ड्रोनमाथि निगरानी गरिरहेको छ। पश्चिम बंगालको हावडामा सयौं मानिसले विरोध प्रदर्शन गरेका छन्।

मानिसहरूले आपत्तिजनक टिप्पणी गर्ने भाजपा नेताहरूको पुत्ला समेत जलाएका छन्। मुम्बई तथा महाराष्ट्रका विभिन्न स्थानमा सयौं महिलाहरूले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेकोमा भाजपा नेताहरू विरुद्ध र्याली निकालेका छन्।

यसका साथै सोलापुरमा ठूलो संख्यामा मानिस जम्मा भएर नाराबाजी गरेका थिए। उत्तर प्रदेशका विभिन्न सहरहरूमा सयौं मानिसहरूले विरोध प्रदर्शन गर्दै पैगम्बर मोहम्मदमाथि आपत्तिजनक टिप्पणी गर्नेहरूलाई पक्राउ गर्न माग गरेका छन्।

उत्तर प्रदेशको मुरादाबादमा सयौं मानिसले नाराबाजी गरेका छन्। मानिसहरूलाई हटाउन प्रहरीले बल समेत प्रयोग गर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array