नेपाल नामिबियासँग ६३ रनले पराजित

माण्डवी न्युज
माण्डवी न्युज १ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । स्कटल्याण्डको एयरमा शनिबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

स्कटल्यान्डमा जारी नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियासँग खेलेका दुवै खेल गुमायो।

नामिबियाले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए। यस्तै, आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे। आरिफ शेख ४ रनमा आउट हुँदा देव खनाल र सोमपाल कामीले १/१ रन जोडे। कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन्।

बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए। जान फ्राईलिंकले ३ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो। उसका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले। डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे।

जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए। बसिर अहमेदले १ विकेट लिए । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा आज आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ।

सिरिजकै पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो। हारसँगै नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा झरेको छ। नेपालको १९ खेलबाट १७ अंक छ। १८ खेलबाट १८ अंक जोडेको नामिबिया पाँचौ स्थानमा उक्लिएको छ। ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।

२३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

Array