म्यानमारमा पूर्वसांसदसहित ४ जनालाई मृत्युदण्ड

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं – म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ ।

को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् । ५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए । उनी प्रजातान्त्रिक आन्दोलनको क्रममा पटक-पटक जेल परेका थिए । उनलाई गत वर्ष अक्टोबरमा यांगुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा पक्राउ गरिएको थियो ।

यसैगरी ४१ वर्षीय फ्यो जेया थअ प्रजातन्त्रवादी नेतृ आङ सान सूची निकट मानिन्छन् । उनी सूची नेतृत्वको नेश्नल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीका सांसद थिए । उनले सैन्य शासकविरुद्ध कडा अभिव्यक्ति दिंदै आएका थिए ।

उनलाई सैनिक सरकारले गत नोभेम्बरमा पक्राउ गरेको थियो । मृत्युदण्ड दिइएका अन्य दुई जनाको बारेमा भने खुलेको छैन । यद्यपि उनीहरुविरुद्ध सेनालाई सूचना पुर्याएको आरोपमा एक महिलालाई हत्या गरेको अभियोग थियो ।

म्यानमारको सरकारी समाचार संस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले चारै जनाले आतंककारी गतिविधिलाई निर्देशन र व्यवस्थापन गरेको कारण प्रतिआतंकवाद कानुनअन्तर्गत सजाय दिइएको बताएको छ । यद्यपि उनीहरुलाई कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने समाचारमा स्पष्ट नभएको बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array