अमेरिका कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको छ : डोनाल्ड ट्रम्प

माण्डवी न्युज
माण्डवी न्युज २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको टिप्पणी गरेका छन्। फ्लोरिडास्थित आफ्नो घरमा संघीय अनुसन्धान निकाय (एफबीआईले)ले छापा मारेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

उनले बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको उल्लेख गरेका छन्। आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको एफबीआईले जनाएको छ।

गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ। सोमबार छापा मारिएको समयमा ट्रम्प भने न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ।

आफ्नो घरमा छापा मारिएपछि निकै आक्रोशित बनेका ट्रम्पले अमेरिकाका लागि यो कालो समय भएको टिप्पणी गरेका छन्। आफूले सबै सरकारी निकायसँग समन्वय गरेको उनको दाबी छ।

ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न ‘न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको’ आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो।

अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

तर, अधिकारीहरूले पूर्वराष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा धेरै कागजपत्र लिएर गएको आरोप लगाएका बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले भने यस्तो आरोपको खण्डन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array