मंसिर ४ गतेको चुनावमा १५ दिन मात्रै प्रचारप्रसार गर्न दिने आयोगको तयारी

माण्डवी न्युज
माण्डवी न्युज २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने तयारी गरेको छ।

यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो।

आयोगमा छलफलका क्रममा रहेको प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकामा प्रचारका लागि १५ दिन मात्रै दिने प्रस्ताव राखेर छलफल भइरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

‘मनोनयनपछिको १५ दिन प्रचार गर्न पाउने गरी हामीले छलफल अघि बढाएका छौँ’, उनले भने। निर्देशिका पारित हुन केही दिन लाग्ने पनि उनले बताए।

आयुक्त भण्डारीले भने, ‘निर्देशिकामा चुनाव प्रचारका लागि आमसभा, घर दैलो, भेटघाट कहिले कहिले गर्न पाउने भन्ने निर्धारण गरेर आउनेछ।’

आयोगले प्रत्यक्षतर्फको चुनावका लागि असोज अन्तिम हप्तामा मनोनयन गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ ले चुनाव प्रचारकाे अवधि १५ दिन मात्रै दिएको छ।

स्थानीय तह निर्वाचन ऐनले उम्मेद्वारलाई चुनाव चिन्ह दिएको बढीमा १५ दिनभित्र मतदान गर्नुपर्ने उल्लेख छ। प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्बन्धी ऐनमा प्रचारको अवधि निर्धारण गर्ने अधिकार आयोगले दिएको छ।

निर्वाचन कार्यतालिका आधारमा दल तथा उम्मेदवारले पाउने प्रचार अवधिलाई आयोगले निर्देशिकामार्फत अघिल्लो चुनावको तुलनामा आधाभन्दा बढीले घटाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

Array