दाङमा मतदाता नामावली अद्यावधिक कार्य शुरु

माण्डवी न्युज
माण्डवी न्युज १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

दाङ – निर्वाचन आयोगले आईतबारदेखि मतदाता नामावली अद्यावधिक शुरु भएको जनाएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आईतबार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी ठाउँमा नाम समावेश भएमा नाम सच्याउन बुधवारसम्मको समय तोकिएको छ । मतदाता नामावली अद्यावधिक भएपछि आउँदो ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सरकारले गएको साउन १९ गते चुनावको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको थियो ।

दाङमा पनि फोटो सहितको मतदाता नामावली अद्यावधिक गर्ने काम शुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारी अनुसार, मतदाता नामावली अद्यावधिक दावी विरोधसमेत कार्यक्रममा फोटोसहितको मतदाता नामावली सच्याउने काम भईरहेको छ । फोटोसहितको मतदाता नामावली सच्याउने काम भईरहेको हुँदा सरोकार सबैलाई आफ्नो विवरण यकिन गर्न आग्रह गरिएको छ ।

मतदाताले आफ्नो विवरण यकिन गरी सच्याउन सक्ने बताइएको छ । तर, कुनै मतदाताले मतदान केन्द्र सार्न चाहेमा एउटै वडामा मतदान केन्द्र सार्न मिल्ने भएपनि वडाभन्दा बाहिर सार्न नमिल्ने स्पष्ट पारिएको छ । यो काम १५ गतेको बिचमा हुनेछ ।

सूचना अधिकारी गहेन्द्र कुवरका अनुसार, दाङमा मतदाता नामावली विवरण अध्यावधिक गर्न वडाबाट स्पष्ट रुपमा पठाएमा यकिन गर्न सजिलो हुने र नाम नामेसी, मतदाता परिचय पत्र नम्बर सबै खुलेमा सही तथ्यांक आउने छ । जिल्लामा हाल ४ लाख १९ हजार ४ सय ४९ जना मतदाता रहेका छन् जसमा २ लाख १३ हजार ६ सय ६९ महिला, २ लाख ५ हजार ७ सय ७८ पुरुष र २ जना अन्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array