राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौ – सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा हुतराज थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार एआईजीसरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थापालाई मुख्य अनुसन्धान निर्देशक (आईजीसरह) मा बढुवा गरेको हो । विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

थापा विभागका दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमध्ये पहिलो वरीयतामा थिए । विभाग प्रमुख बन्न अर्का एआईजी ओम जोशी पनि प्रतिस्पर्धामा थिए तर सरकारले पहिलो वरीयताका थापालाई नै प्रमुखमा बढुवा गरेको हो । बढुवासँगै थापा अबको ३ वर्ष नेतृत्वमा रहनेछन् । रोल्पा स्थायी घर भएका ५२ वर्षीय थापाले २०५३ मा शाखा अधिकृतसरहको पदबाट सेवा प्रवेश गरेका थिए । उनी गत साउन ३० मा मात्रै एआईजीमा बढुवा भएका थिए । यसैगरी मन्त्रिपरिषद्ले थापा प्रमुखमा बढुवा भएपछि रिक्त पदमा अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।

कार्की हाल कर्णाली प्रदेशको राअवि प्रमुख छन् । यस्तै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर उनको ठाउँमा अर्का सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ । पाण्डे २०७८ साउनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गृहमा सरुवा भएका थिए । त्यसको करिब १ वर्षपछि पाण्डेलाई प्रधानमन्त्री कार्यालय सरुवा गरी प्रदेश १ का प्रमुख सचिव रहेका सिंहलाई गृह सचिवमा सरुवा गरिएको हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

Array