बिहीबारसम्म हाम्रो सपथ हुन्छ : एकीकृत समाजवादीका नेता चौधरी

माण्डवी न्युज
माण्डवी न्युज २५ जेष्ठ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बिहीबारसम्म मन्त्री हेरफेर हुने बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे ।

‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरुले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि समय चाहिन्छ भनेपछि केही दिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथ ग्रहण भोलि पक्कै हुन्छ’ उनले भने ।

उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

‘माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौं, दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । सकभर आज नभए भोलि ग्यारेन्टी हुन्छ’ नेता चौधरीले भने ।

नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई पठाउने तयारी गरेको छ । त्यस अनुसार मन्त्री बन्ने नेताहरुको नाम एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ । नेता चौधरीको नाम शहरी विकास मन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array