मन्त्रिपरिषद् हेरफेर बजेट पारित भएपछि मात्रै गर्ने सहमति

माण्डवी न्युज
माण्डवी न्युज २७ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – गठबन्धनका तीन शीर्ष नेताहरुले संसदबाट बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने निर्णय गरेका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको कुराकानीबाट बजेटपछि मात्रै मन्त्रिपरिषदबारे निर्णय लिने सहमति भएको स्रोतले जानकारी दियो।

एकीकृत समाजवादीले आइतबार नै आफ्ना मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री देउवा समक्ष नाम बुझाएको थियो । बाहिरिने मन्त्रीहरुकै असन्तुष्टि र बजेटमाथिको छलफल जारी रहेको भन्दै देउवाले अध्यक्ष नेपाललाई केही दिन पर्खिन आग्रह गरेका थिए । अब त्यो भाखा बजेट पारित भएपछिका लागि सरेको छ ।

बजेट पारित गर्न संसदका दुवै सदनमा छलफल चलिरहेको छ । प्रतिनिधिसभाबाट बजेट जेठभित्रै पारित हुने र त्यसपछि राष्ट्रियसभामा जानेछ । अझै शुक्रबार र आइतबार मन्त्रालयगत विनियोजनमा छलफल हुने र त्यसपछि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन ।

सभामुख अग्नि सापकोटका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार जेठ महिनाभित्र बजेट पारित हुने सम्भावना छ । यदि दुवै सदनबाट बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने हो भने असार दोस्रो हप्तामा मात्रै हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

Array