२४ लाख खोप घोटाला गरेको आरोप पुष्टि गर्न स्वास्थ्यमन्त्रीको चुनौती

माण्डवी न्युज
माण्डवी न्युज १ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताउका हुन्।

उनले स्वास्थ्य बीमा कार्यक्रम, ऐनअनुसार नै आफू अगाडि बढ्ने बताए। निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाँड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाँड्न थालिएको मन्त्रीले खतिवडाले उल्लेख गरे। उनले स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिए। उनले भने, ‘स्वास्थ्य बीमामा कम्पनी लेखिसकिएको भन्ने कुराहरु आयो। मंसिरसम्म यहीँ हुन्छौँ होला।

अर्थमन्त्री भोलि संसदमा उभिनुहुन्छ सोध्नु होला। म लागू गर्दिनँ। अहिले स्वास्थ्य ऐनले जे भनेको छ, त्यो उद्देश्यले गरिएको हो। त्यही अन्तर्गत जान्छु। अर्थमन्त्रीले होइन भनिसक्नु भयो।’ मन्त्री खतिवडाले २४ लाख हराएको खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरे। उनले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरुलाई आग्रह गरेका हुन्।

उनले नेपालमा विभिन्न देशबाट आएका खोपहरु काठमाडौँमा कुन मितिमा आएको, काठमाडौँबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गरे। मन्त्री खतिवडाले नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको बताए। उनले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप सरकार स्टक रहेको बताए।

मन्त्री खतिवडाले आफूविरुद्ध २४ लाख घोटाला गरेको आरोप पुष्टि गर्नसमेत चुनौती दिए। उनले भने,‘स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो? कुन मितिमा आयो? प्रस्ट छ, खोप सबै विदेशबाट काठमाडौँमै आएको छ र विराटनगर गएको छैन।

अनि काठमाडौँबाट प्रदेशमा कति गयो? प्रदेशको खोप जिल्लामा कति गयो? वेबसाइटमा छ। त्यो हेरेर प्रदेश र जिल्लामा गएर त्यति मात्रामा आयो–आएन सोधिदिन आग्रह छ। २४ लाख घोटाला गरेको हो भने पुष्टि गर्न चुनौती दिन्छु। चोरको कुरा चोरले नै देख्छ, सर्पको खुट्टा सर्पलाई नै देख्छ। म झुटो साबित हुन आँतुर छु, कृपया यति गर्दिनुहोला।’

प्रतिक्रिया दिनुहोस्

Array