न्यायाधीश नियुक्तिमा आफ्ना मान्छे खोज्दा विकृति बढ्यो : मन्त्री बन्दी

माण्डवी न्युज
माण्डवी न्युज १२ असार २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले योग्यता नहेरी आफ्ना मान्छेलाई न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत भएको बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले अदालत पटक पटक विवादमा परेको र न्यायप्रति जनआस्थामा प्रतिकुल असर परेको भन्दै समाधानका लागि सरकारले के गर्दैछ भनेर प्रश्न गरेका थिए ।

जवाफ मन्त्री बन्दीले न्यायालयमा विकृति र विसंगति रहेको स्वीकार मात्र गरेनन्, विकृति विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाटै सुरु हुने बताए ।

‘न्यायलयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भएको हो’ उनले भने, ‘हामीले न्यायाधीश नियुक्त गर्दा योग्यता, क्षमता, निष्पक्षता र उसले गरेर आएको कामको आधारमा योग्य छ कि छैन भन्ने हेरेनौं, मेरो मान्छे र तेरो मान्छे भनेर न्यायाधीशहरु नियुक्त गर्यौं ।

यसले न्यायलयभित्र राजनीतिक नियुक्ति भयो भन्ने आयो ।’ अदालतको विकृति, विसंगति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि न्यायाधीश नियुक्तिमा भएको कमजोरीले न्यायालयभित्र विकृति र विसंगति बढाएको उल्लेख गरेको मन्त्री बन्दीले स्मरण गरे ।

सुधारका लागि सरकारले न्यायाधीश नियुक्ति निर्देशिका तयार गरिसकेको मन्त्री बन्दीले बताए । उक्त निर्देशिका यसै साता राजपत्रका प्रकाशित हुने र कार्यान्वयनमा आउने उनले बताए ।

‘मन्त्रालयले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार गरेको छ, छलफल भइरहेको छ । यही हप्ता निर्देशिका राजपत्रमा प्रकाशित गरेर त्यस आधारमा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया अवलम्बन गरिनेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array