जबर्जस्ती विवाह गराउन खोजेको आरोपमा ३ जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – गत साउन २ गते घोराही उपमहानगरपालिका– १० कि रोशनी लामिछानेले मेहेन्दी लगाइदिन भन्दै एक जना साथीलाई घरमा बोलाइन् । दिनभर उनीहरु सँगै बसे, मेहेन्दी लगाए ।

साँझतिर तुलसीपुर उपमहानगरपालिका-७ का शिशिर वादी गाडी लिएर उनीहरुको घरमा आए । रोशनी र उनकी आमा सीता केसी लामिछानेले ती युवतीलाई पनि सँगै लिएर गाडी चढे ।

ती युवतीले जान मानिनन्, तर आमाछोरीले जबर्जस्ती गरे । चालकले गाडी तुलसीपुर–७ का ३५ वर्षीय प्रकाश वलीको घरमा पुर्याए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ती युवतीलाई प्रकाशको घरमा पुगेपछि विवाहका लागि दबाव दिइएको थियो ।

युवतीले विहेका लागि आफूलाई दबाव दिएपछि बाबुलाई म्यासेज पठाइन् । बाबुले तत्काल इलाका प्रहरी कार्यालय तुलसीपुरमा जानकारी गराएपछि प्रहरीले प्रकाशकै घरबाट ती युवतीको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालले युवतीलाई जबर्जस्ती विवाह गर्न दबाव दिएको खुलेको बताए । प्रहरीले रोशनी,उनकी आमा सीता र गाडी चालक शिशिर वादीलाई पक्राउ गरेको छ ।

उनीहरुले ती युवतीलाई विवाह गर्न किन जबर्जस्ती गरे भन्ने नखुलेको प्रहरीले बताएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array