प्रहरी रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी भिडियो संलग्न, सांसदहरुले हेर्दै

माण्डवी न्युज
माण्डवी न्युज १० श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं – बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको भिडियो समेत छ ।

सो भिडियो अहिले समितिका सदस्यहरुले हेरिरहेका छन् । तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन । १४ गतेकै छ छैन भन्ने पनि खुलेको छैन ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो । यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जनाएको थियो ।

त्यसपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले झिकाएको थियो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।

छानबिनको क्रममा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने संकेत कतैबाट नपाएपछि सीसीटीभी फुटेज नै अब निर्णायक हुने ठानिएको छ । त्यसैले सीसीटीभी फुटेजमा के छ भन्ने चासो धेरैको छ ।

प्रतिक्रिया दिनुहोस्

Array