लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी

माण्डवी न्युज
माण्डवी न्युज १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ ।

‘सरकारमा जाने भन्ने भइसकेको छ ।आज/भोलिमा नै जाने भनी ठ्याक्कै भन्ने अवस्था छैन’, उनले भने, ‘हामीले उठाएको प्रमुख मुद्धा नागरिकता विधेयक हो । राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ ।’

लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको थियो । ‘महोत्तरी र कैलालीको टीकापुरमा लोसपाका नेता कार्यकर्तालाई झुटा मुद्धा लगाएर थुनामा छन् । सर्वोच्चमा विचाराधीन रहेकालाई केही गर्न सकिने भएन’, लोसपा नेता भन्छन्,‘फिर्ता लिन सकिने मुद्धाहरुका बारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ ।’

लोसपाले सरकारमा सहभागी हुनका लागि कम्तीमा दुई मन्त्रालयको माग गरेको छ । थप एक राज्यमन्त्री पनि लोसपाको माग छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर गर्ने जानकारी पनि आफ्नो पार्टीलाई दिएको उनले बताए । प्रधानमन्त्री देउवाले सक्रियता जति छिटो देखाउन सके त्यति नै छिटो लोसपा सरकारमा सहभागी हुने लोसपाका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array