भारतले खोलिदियो गण्डक बाँधका सबै ढोका, नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा

माण्डवी न्युज
माण्डवी न्युज १७ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं – नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् ।

दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलेको हो । बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको छ ।

भारतले ढोका खोलेसँगै नेपालका वस्ती डुबानको जोखिममा पर्ने गर्दछन् । देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो ।

पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने गण्डक बाँधको क्षमता छ ।

पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका अमित खड्काले बताए ।

पानीको सतह ३ लाख ६७ हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । अहिले २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने उनले बताए ।

पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरुको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array