शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो, १ जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।

उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बताए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले  भने ‘हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको छ, विस्तृत सूचना आउन बाँकी छ।

’ त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको हो । प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएको थियो ।

‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’

फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए । प्रहरीले नियन्त्रणमा लिएका ती शंकास्पद व्यक्तिसँगै रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array