जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, ८ जना बिरामी

माण्डवी न्युज
माण्डवी न्युज २१ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

दाङ – सल्यानमा जंगली च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ। शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।

बालिकाको उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। शुक्रबार बेलुका जंगलबाट च्याउ ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन्।

मृतक बालिका केशरकी छोरी रहेको प्रहरीले बताएको छ । जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

जोन बस्नेत र जोशना बस्नेतलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। रिफर गरिएका मध्य जोशनाको मृत्यु भइसकेको प्रहरीले बताएको छ। जोनको भने सुर्खेतमा उपचार जारी छ।

भने अन्य बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

यसैबिच, सल्यान बनगाड कुपिण्डे नगरपालिका-९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी छन्।

बिरामी भएपछि शुक्रबार राति सवा ९ बजेतिर जिल्ला अस्पताल सल्यानमा पुर्याइएका उनीहरू थप उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array