दलित समुदायका व्यक्तिहरूकाे नागरिकतामा राखिएकाे नाम सच्याउनुपर्छ : सांसद भुवनबहादुर सुनार

माण्डवी न्युज
माण्डवी न्युज २३ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएका नामहरू सच्याउन माग गरेका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए। उनले दूरदराजका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूकाे नाम सच्याउन गृहमन्त्रीसँग माग गरे।

उनले भने, ‘यस्तो पनि नागरिकता हुन्छ? यस्तो पनि लेख्न मिल्छ? ती हाकिमहरू, ती फटाहाहरू। यो देशमा एकथरी मान्छेलाई कति घृणा गर्न उद्यत हुँदा रहेछन् त ? कति अपमान गर्न उद्यत हुँदा रहेछन् त ? नागरिकता लिन जाँदा ती हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन्।

अहिले पनि गर्दछन्। त्यो बेलामा पनि गरे होलान्। किन यस्तो नाम लेखेको किन भनेनन्? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ? त्यस्तो कागजमा सही गर्नेको हात भाँच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो? यी नागरिकता सच्याउनलाई म गृहमन्त्रीसँग अनुरोध गर्दछु।

तुरुन्त सच्याइनुपर्छ र यस्तो खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ। राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ। आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन। दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रूपमा ती बस्तीमा पुग्नुपर्छ।

त्यस्ता अपराधीहरूलाई खोजीखोजी कारबाही गर्नुपर्छ। राज्य यो विषयमा गम्भिर हुन आवश्यक छ।’ सांसद सुनारले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमान माथि अपमान भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

Array