‘जब आदिवासी पोसाकमा ठाँटिए विद्यार्थीहरु’

माण्डवी न्युज
माण्डवी न्युज २४ श्रावण २०७९, मंगलवार
3 Min Read
Aa

दाङ – सधैं विद्यालयले निर्देशन गरेको पोसाकमा सजिएर विद्यालय जाने विद्यार्थीहरू आज फरक उत्साह र पोसाकमा ठाँटिएका थिए । विभिन्न जातजातिका पोसाकमा ठाँटिएका विद्यार्थीलाई हेर्दा उनीहरू विद्यालय होइन कुनै उत्सव या पर्वमा सहभागी हुन जाँदै छन् जस्तो लाग्थ्यो ।

बढो उत्साह र उमङ्गका साथ विद्यालय पुगेका विद्यार्थीहरूको मुहारमा पनि उत्तिकै खुशी झल्किएको देखिन्थ्यो । एकले अर्काको पोसाक हेर्दै कुन जातिको पोसाक हो भन्ने बारे जानकारी लिइरहेका थिए । विद्यालय प्राङ्गणमा आफूले लगाएका पोसाकको बारे साथीलाई जानकारी गराउन तल्लीन थिए विद्यार्थीहरु ।

यो दृश्य थियो दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ मा अवस्थित राजविद्या पाठशालाका विद्यार्थीहरूको ।

‘विद्यालयमा पढाइ छ । सदाझैं आज पनि विद्यालयमा पठनपाठन हुन्छ । आज विश्व आदिवासी दिवसका अवसरमा आदिवासीको पहिचान र मूल्य मान्यताको बोध गर्न र गराउन हामी आदिवासी पोसकमा आएका छौँ । आजको हाम्रो विद्यालय पोसाक यही हो ।’ आज विद्यालयमा पढाइ छैन ? भन्ने जिज्ञासाको प्रत्युत्तर दिए कक्षा ७ का छात्र उत्सव गोराथोकीले । आज गोराथोकी गुरूङ पोसाकमा चिटिक्क सजिएका थिए ।

विश्व आदिवासी दिवसका अवसरमा आज विद्यालयले आज विद्यार्थीहरूलाई विभिन्न आदिवासी पोसाकमै विद्यालय बोलाएको थियो ।

‘आज विश्व आदिवासी दिवस हो । विभिन्न आदिवासी पोसाकमा आउँदा हामीलाई आदिवासी को रहेछन्, कुन कुन जाति रहेछन् भन्ने हामीलाई सजिलो भएको छ ।’ नेवार पोसाकमा चिटिक्क परेकी कक्षा ४ की छात्रा प्रनिता श्रेष्ठले बताइन् ।

‘हामीले पढ्दै आएका कुरा, सुन्दै आएका कुरालाई आज झनै सजिलोसँग बुझ्ने मौका पाइयो । आदिवासीको पहिचान, महत्व र इतिहासका बारेमा केही ज्ञान पायौँ । मगर पोसाकमा सजिएकी कक्षा ७ की छात्रा प्रतिका जिएमले बताइन् ।

दाङको राजविद्या पाठशालाले एक कार्यक्रमका बिच आज विश्व आदिवासी दिवस मनाएको छ ।

‘हामीले हरेक अवसर र दिवसलाई कुनै न कुनै कार्यक्रमका बिच मनाइरहेका हुन्छौँ । हामीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा त्यसका बारेमा विद्यार्थीलाई केही जानकारी दिलाउन सक्नुपर्छ, जसबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान प्राप्त गर्न सकून्,यो हाम्रो शैक्षिक क्यालेन्डर नै हो । देशभर विश्व आदिवासी दिवसको मनाइरहँदा आदिवासीका बारेमा केही ज्ञान विद्यार्थीलाई दिलाउनु हाम्रो शैक्षिक उद्देश्य हो ।’ प्रिन्सिपल टीकाजंग विकले बताए ।

कार्यक्रममा कक्षा २ की छात्रा आदिश्री केसी, कक्षा ६ की छात्रा भविष्का केसी, कक्षा ६ का छात्र अर्नव चोवे, कक्षा ४ का छात्र सुवोध घिमिरे, कक्षा ७ का छात्राहरू सुवासना नेपाली, अवनी गौतम, कक्षा ५ का छात्रहरू शिशिर कुमाखी र अश्विन सेन्चुरी लगायतले विश्व आदिवासी दिवसका बारेमा विचार राखेका थिए ।

२८ ओैँ विश्व आदिवासी दिवसका अवसरमा विद्यार्थीहरू विभिन्न आदिवासी पोसाकमै विद्यालय आएका थिए । साथै शिक्षक शिक्षिका पनि विभिन्न आदिवासी पोसाकमै आज विद्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array