बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो

माण्डवी न्युज
माण्डवी न्युज २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ ।

ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बताए ।

‘मन्त्रालयले जारी गरेको सूचनामा २७ र २८ गतेको आवेदन संख्यालाई हेर्दा घटेको जस्तो देखिए पनि पहिलेको तुलनामा बढाइएको संख्या हो,’ प्रवक्ता पोखरेलले भने । सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् ।

अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ । विचौलियाहरुले अप्लाई गरी होल्ड गरेर तनाव दिएको हुनाले कोटा थपेर समय नै तोकेर यो सूचना निकाल्न लगाएको स्रोतले बतायो ।

‘वास्तविक आकांक्षीले अप्लाई गरुन् भन्ने उद्देश्य हो,’ स्रोतले भन्यो । हाल आवेदकबाट प्राप्त शुरु विवरणहरु संशोधन गर्न रोक लगाउने तयारी पनि गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array