चलचित्र ‘प्रेमगन्ज’ को मुख्यपात्र बैंकर तेज गिरी

माण्डवी न्युज
माण्डवी न्युज ३० श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाण्डौ – बैंकिंग पेशाबाट अभिनयमा होमिएका पात्र हुन्, तेज गिरी । पेशाले उनी बैंकर हुन् । मुक्तिनाथ विकास बैंकमा उनी लामो समयदेखि कार्यरत छन् । यस्तैमा, उनले फिल्म ‘प्रेमगन्ज’बाट अभिनय करिअर पनि सुरु गरेका छन् ।

लाखौं बैंकरहरुको प्रतिनिधित्व गरेर आफू फिल्ममा आएको उनी बताउँछन् । तेज भन्छन्, ‘म लाखौं बैंकरहरुको प्रतिनिधित्व गर्दै फिल्ममा आएको छु । लिड एक्टर भएर फिल्म गरेको म पहिलो बैंकर पनि हो । अभिनयमा म बामे सर्दै छु । हाम्रो समाजमा बामे सर्दै गरेको बच्चालाई हुर्काउन सबैले अभिभावकको भूमिका निर्वाह गर्छौं । मलाई पनि बामे सर्न साथ मिल्छ भन्नेमा विश्वस्त छु ।’

उनी आफ्नो अभिनयलाई दर्शकबाट जस्तोसुकै प्रतिक्रिया आए पनि सहर्ष स्वीकार गर्ने बताउँछन् । ‘मैले गरेको काम चित्त बुझेन भने फिल्म हेर्न तिरेको पैसाभन्दा धेरै गाली गर्दा पनि हुन्छ । म सहर्ष स्वीकार गर्छु । मनपर्‍यो भने प्रशंसा पनि गरिदिनुस् । तर, एकपटक हलमा गएर हेरिदिनुहोला । हामीले एकदमै मिहेनत गरेर फिल्म बनाएका छौं । फिल्मले निराश बनाउँदैन,’ उनले भने ।

आगामी भदौ ३ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा माया गर्नेहरुको बेग्लै संसार रहेको र दर्शकहरुलाई सुन्दर संसारमा पुगेको महशुस हुने उनको दाबी छ । फिल्मले दर्शकलाई टिनएजमा पनि फर्काउने उनले बताए । फिल्मबाट ठूलो अपेक्षा राखेका तेज दर्शक प्रतिक्रिया बुझ्न आतुर रहेको बताउँछन् । फिल्ममा आफूले सच्चा माया गर्ने प्रेमीको भूमिका निर्वाह गरेको उनको भनाई छ ।

‘फिल्ममा मैले विशुद्ध माया गर्ने प्रेमीको भूमिका निभाएको छु । मायाको प्रभाव र अभावले जीवनमा आउने उतार-चढाव र त्यसले करिअरमा पार्ने असरहरुलाई मेरो पात्रबाट भनिएको छ,’ उनले को-एक्टर बेनिशा हमालसँग काम गर्दाको अनुभवबारे पनि भने, ‘बेनिशाजी अनुभवी कलाकार हुनुहुन्छ । उहाँसँग काम गर्दा आफूलाई निखार्नसँगै सिक्न पाएँ । यो मेरो लागि ठूलो अवसर हो ।’

परिच्छेद सेनले निर्देशन बनेको फिल्ममा तेज र बेनिशासँगै सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् । निर्देशक परिच्छेदकै कथा रहेको फिल्ममा राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array