सन्दीप लामिछानेविरुद्ध अभियोग पुष्टि भए बलात्कारमा १२ वर्षसम्म जेल सजाय हुनसक्ने

माण्डवी न्युज
माण्डवी न्युज २२ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ ।

गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले अनलाइनखबरलाई बताए ।

जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । मंगलबारै थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ ।

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ । पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन् ।

त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छन् । नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ ।

‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने युसको उपदफा (२) मा भनिएको छ ।

‘घटनास्थल फरकफरक भएकाले यो अभियोग पनि आकर्षित हुनसक्छ, यद्यपि यो अनुसन्धानपछि टुंगिने विषय हो,’ काठमाडौं प्रहरीका एक अधिकृतले भने । यदि उनीविरुद्ध बालयौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

ख्यातिको आडमा बलात्कार भएको उस्तै प्रकृतिको घटनामा मंगलबार मात्रै अभिनेता पल शाहलाई अदालतले साढे २ वर्ष कैद सजाय तोकेको छ । पीडितले बयान फेरेपछि उनलाई जबरजस्ती करणीमा अदालतले सफाइ दिएको छ भने बालयौन दुरुपयोगको कसूरमा दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array