प्रहरीले संकलन गर्‍यो लामिछाने पीडितसँग होटलमा गएको सीसी टीभी फुटेज

माण्डवी न्युज
माण्डवी न्युज २२ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ ।

ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११:५५ बजे पुगेका थिए ।

उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले  बताए । ‘यसले घटना भएको भनिएको दिन पीडित र लामिछानेसँगै भएको देखाउँछ, होटलका कर्मचारीले पनि दुईजनाको उपस्थितिलाई पुष्टि गरिदिएका छन्,’ एक अधिकृत भन्छन्, ‘लामिछाने नियमित जाने होटल भएकाले त्यो दिन उनीहरु कसेको पनि परिचय पत्र त्यहाँ राखिएको रहेनछ ।

’ लामिछानेले होटलका सञ्चालकलाई फोन गरेरै कोठा बुक गरेको पनि पाइएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए ।

राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ छ । ‘राति पटकपटक जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोरा भन्छन्, ‘प्राविधिक पक्षको अनुसन्धान गरिरहेका छौं ।

’ प्रहरीले नगरकोटमा उनीहरु गएको भनिएको होटलको पनि सीसी टीभी फुटेज संकलन गरेको छ । ‘सन्दीपमाथि लागेको अभियोगविरुद्ध सीसी टीभी फुजेट र कर्मचारीले गरिदिएको कागज महत्वपूर्ण प्रमाण हुनेछन्,’ ती अधिकृत भन्छन्, ‘अन्य प्राविधिक पाटोबारे अनुसन्धान भइरहेको छ ।

’ लामिछाने अहिले क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि जमैकामा छन् । केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको अभियोगबारे हालसम्म लामिछाने मौन छन् ।

प्रतिक्रिया दिनुहोस्

Array