नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

माण्डवी न्युज
माण्डवी न्युज २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक दोस्रोपटक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन्।

शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले राजनीतिक एजेण्डा बनाउन खोजेको आरोप पनि लगाए।

यदि अब प्रमाणित नगरे यो विषय अदालत जाने अनि प्रमाणित गर्दै राजीनामा दिनुपर्ने बताए। ‘राष्ट्रपतिज्यूलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ ,’ प्रचण्डले भने, ‘मैले केहीदिन अघि राष्ट्रपति जीसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई राजनीतिक विषय बनाउने मुडमा भएकै देखेको थिएँ। ’

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने संभावना पनि भएको उनले बताए। ‘विधेयक प्रमाणित नगरे अदालतमा जान्छ। अदालतको फैसलापछि प्रमाणीकरण हुन्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्छ।’ प्रचण्डले भने।

सरकारले दुबै सदनबाट पारित गर्दै भदौ २० गते प्रमाणीकरणका लागि पठाएको थियो। पहिलो पटक राष्ट्रपति भण्डारीले १५ बुँदे टिप्पणी गर्दै विधेयक संसदमै फर्काएकी थिइन्। अब संविधानले उक्त विकल्प पनि दिएको छैन। तर राष्ट्रपति भण्डारी गहन परामर्शमा रहेकी छन्। असोज ४ गतेसम्म विधेयक प्रमाणीकरणबारे निर्णय हुनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

Array