कांग्रेस नेताहरुले गठबन्धनविरुद्ध भाषण गर्नु हुँदैनः गृहमन्त्री खाण

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्।

नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन्।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएका उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे।

उनले आफू कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेकोसमेत बताए।

उनले भने, ‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर, गठबन्धन तोडेर हेरौँ भनेर भन्नुहुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन। तपाईंहरुलाई जे हो त्यही भनिदिनु पर्दछ।

अहिले नेपाली कांग्रेसको भूमिका के हो? नेपाली कांग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्तिसुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो। त्यो म पूरा गर्नेछु। हामी गठबन्धनमा आवद्ध छौँ। गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो। राजनीतिक धर्म र दायित्व हो।’

प्रतिक्रिया दिनुहोस्

Array