कांग्रेस सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन्। मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन्।

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउनअन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णयअनुसार साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले बताए।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको संयोजक यादवले बताए।

संयोजक यादवकाअनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाका मेयर पदका उम्मेदवार विजयशंकर यादवलाई पराजित गर्न लोसपाबाट मेयर पदमा उम्मेदवार बनेका किशोरीप्रसाद कलवारलाई विजयी गराउन सहयोग गरेको आरोप छ।

यस्तै, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद यादवविरुद्धमा सोही नगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवार रामबाबु यादवको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको अनुशासन समितिका संयोजक यादवले बताए । देश सञ्चार

प्रतिक्रिया दिनुहोस्

Array