सरकारले कारबाहीको चेतावनी दिएपछि इम्बोस्ड नम्बर जडान गर्नेको भिड बढ्यो

माण्डवी न्युज
माण्डवी न्युज २४ जेष्ठ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं – सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनका धनीहरुलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नु पर्ने र नजोडे कारबाही गर्ने चेतावनीयुक्त सूचना जारी गरेपछि यातायात कार्यालयमा भिड बढेको हो ।

आज बिहानदेखि गुर्जुधारामा एम्बोस्ड नम्बर दर्ता र जडान गर्नेहरुको लामो लाइन देखिएको छ । यो पनि पढ्नुहोस विवादित ठेक्का, चर्को शुल्कदेखि कमजोर गुणस्तरसम्म प्रश्नैप्रश्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २२ कात्तिक २०७८मा राजपत्रमा सूचना प्रकाशित गरी संघीय सरकारको यातायात कार्यालयले नामाकरण भइसकेका प्रदेशहरुमा १ मंसिरदेखि नयाँ दर्ता भएका सवारी साधनमा, १ फागुनदेखि नामसारी गरिने सवारी साधनमा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा इम्बोस्ड नम्बर अनिवार्य गरिएको जनाएको छ ।

पर्याप्त तयारी नगर्ने तर राजस्व उठाउन मात्र चर्को शुल्कको इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्न खोजेको भन्दै सरकारको आलोचना भइरहेको छ । यस विषयमा सामाजिक सञ्जालदेखि प्रतिनिधिसभाको बैठकसम्म सरकारको कार्यशैली र नियममाथि प्रश्न उठेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सेवाग्राहीलाई दिइएको धम्की खारेज गर्न, महंगो र गुणस्तरहीन इम्बोस्ड प्लेट वितरणको व्यवस्थामा पुनर्विचार गर्न सरकारसँग माग गरेका थिए। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे भने कार्यालय र सेवाग्राहीले इम्बोस्ड प्लेट जडान गर्न आनाकानी गरेकाले कारवाही गर्नुपर्ने अवस्था आएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array