अर्थमन्त्री शर्माको राजीनामा माग्दै मोरङका व्यवसायी सडकमा

माण्डवी न्युज
माण्डवी न्युज ९ असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ –  मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। आर्थिक विधेयक २०७९/०८० ले उद्योगीलाई मर्कामा पारेको जनाउँदै बिहीबार मोरङको बुढीगंगा गाउँपालिकास्थित विराटनगर–धरान सडकखण्डमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले आर्थिक विधेयकले जिआई वायर, वनस्पती घ्यू तेल, सेनिटेरी प्याड तथा यार्न उत्पादनका उद्यागीहरुलाई मर्का पर्ने बताए।

अध्यक्ष रिजालले उद्योगीलाई मर्का पर्ने गरी ल्याइएको विधेयकलाई सच्चाउनका लागि पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नहुँदा सडकमा उत्रिनुपरेको बताए। उनले भने, ‘छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकार लागेको छ। उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै प्रयासरत छ।’ त्यसैगरि उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले त्रुटि सच्याउने विषयमा छल गरेको आरोप लगाए।

अध्यक्ष प्याकुरेलले उद्योगीलाई मर्कामा पर्ने गरी काम गरिरहँदा प्रधानमन्त्रीले समेत आफ्ना मन्त्रीहरुलाई बचाउन तल्लिन रहेको आरोप लगाए। उनले भने, ‘अहिले उद्योग धराशायी बनाउने क्रममा रहेका अर्थमन्त्री, कर्मचारीमाथि तथानाम गालीगलौच गर्ने मन्त्रीलाई समेत सरकारले बर्खास्त गर्न सकेको छैन। उद्योग धराशायी हुने काम भइरहँदा प्रधानमन्त्रीले किन उहाँहरुलाई बर्खास्त गर्नुहुन्न?’ यस विषयमा कुरा गर्न उद्योगीहरुले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष समेत पुगेको बताएका अध्यक्ष प्याकुरेलले भने, ‘प्रचण्डले समेत उद्योगीको माग जायज भएको बताएका थिए।

जायज माग पूरा गराउन अर्थमन्त्रीलाई दबाब दिने बताएका थिए।’ उद्योगीसँग खेलाची नगर्न चेतावनी दिँदै उनले भने, ‘यहाँ अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले झुटो बोलेर बसिरहेका छन्। उहाँहरुलाई लाज सरम छैन।’ गत वर्षसमेत अर्थमन्त्रीले दलाली गर्दै २४ वटा उद्योग बन्द गराएको आरोप लगाएका मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले कुनै एक व्यक्तिको लागि गरिएको यस निर्णयमा निर्णयकर्ता उद्योग व्यवसायीको हत्यारा भएको आरोप लगाए।

विरोधका क्रममा उद्योगीसँगै श्रमिक र विभिन्न ट्रेड यूनियनकर्मीहरुसमेत सहभागी रहेका थिए। स्थानीय गोकुवा चौकबाट सुरु गरिएको विरोध पैदल रयाली बाँसबारीसम्म पुगेर कोणसभामा परिणत भएको थियो। विरोध कार्यक्रम मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array