प्रदेश १ की सांसद खातुनको राजीनामा स्वीकृत

माण्डवी न्युज
माण्डवी न्युज १६ असार २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौं – सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् ।

उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए । राजीनामा पत्र बाचन पछि उनले राजीनामा स्वीकृत भएको जानकारी गराए । उनलेसमानुपातिक तर्फको एउटा पद रिक्त रहेको जानकारी दिए । मोरङबाट प्रतिनिधित्व गर्ने खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो ।

उच्च अदालत विराटनगरको फैसलामा चित्त नबुझेपछि उनले सर्वाेच्चमा निवेदन दिएकी थिइन् । निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश शुस्मालता माथेमा र नहकुल सुवेदीको इजलासले गत जेठ २५ गते निस्सा नदिने अन्तिम आदेश गरेको थियो ।  मोहीको जग्गा दाबी गर्न कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरीछापा किर्ते गरेको आरोप लागेको थियो ।

किर्ते मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते एक वर्ष कैद सजाय सुनाएको थियो । सो मुद्दामा खातुनसहित उनका श्रीमान शेख शिलवर मिया, तत्कालीन गाबिसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । किर्ते मुद्दामा दोषी देखिएका तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो । जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् ।

उच्च अदालत विराटनगरले २०७६ पुस ६ गते उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उच्च अदालत विराटनगरले उनका श्रीमान शेख सिलबरलाई सफाइ दिएको थियो ।  तीन जनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला सुनाएको थियो । उच्चको फैसलाविरुद्ध उनले २०७६ फागुन ११ गते सर्बाेच्चमा निवेदन दिएकी थिइन् ।

सर्वाेच्चले सुनुवाइका लागि निस्सा नदिएपछि उनले ११ महिना ५ दिन कैद बस्नुपर्नेछ । एमाले समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित खातुनले तीन विगाह १० कट्ठा मोही जग्गा दाबीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस गर्दा एउटै दर्ता नम्बरका दुई वटा सिफारिस गरेपछि किर्ते मुद्दा परेको थियो ।

गाविसको सिफारिस मोही दाबीका लागि भूमि सुधार कार्यालय पेश भएको थियो । पेस भएको दुई वर्षपछि २०७३ जेठ २२ जाहेरी परेपछि उनी पक्राउ परेकी थिइन् । २५ दिन प्रहरी हिरासतमा बसेकी मियाँ तत्कालीन समयमा १० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन् । साबिक कदमाह गाउँ विकास समिति २( हाल कटहरी –९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो ।

प्रतिक्रिया दिनुहोस्

Array