सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

माण्डवी न्युज
माण्डवी न्युज १६ असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं – काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए ।

उनीहरुले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको वयानमा बताएका थिए ।

तर बस्नेतले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । तर अदालतले पीडितहरुले घटना विवरणमा उल्लेख गरेको व्यवहार आफ्नो शिक्षकले गरेका हुन् भनी सामान्य समझबाट पनि कल्पना गर्न नसकिने प्रकृतिको भएको उल्लेख गरेको छ ।

‘संरक्षक र अभिभावकको रुपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ आदेशमा भनिएको छ । बालयौन दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ ।

सर्वनाम शिक्षालयको होस्टलमा बस्ने ती किशोरीले आफूहरुमाथि भएको यौन दुव्र्यवहारबारे अभिभावकलाई जानकारी गराएका थिए । गत जेठ २० गते अभिभावकले घटनाबारे शिक्षालयका प्रिन्सीपल दुर्गानाथ शिवाकोटीलाई जानकारी गराएक थिए ।

तर उनले बस्नेतमाथि कारबाही अगाडि बढाउन अस्वीकार गरेको भन्दै अभिभावकले होस्टलमा नाराबाजी गरेका थिए । उनीहरुले त्यसै दिन प्रहरी वृत्त वौद्धमा जाहेरी दिएका थिए । त्यसै आधारमा प्रहरीले जेठ २१ गते होस्टल वार्डेन बस्नेतलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array