बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

माण्डवी न्युज
माण्डवी न्युज १३ श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ। जिल्लाको नरेनापुर गाउँपालिका-१ स्थित सुइया, डूडुवा गाउँपालिका-१ स्थित खडैचा, जानकी गाउँपालिका- १ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरूको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए।

उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको पाँच लगायत ३१ जिल्लाका रहेका छन्। उनीहरू १६ देखि २५ वर्ष उमेर समूहका छन्।

उनले मानवबेचविखनको समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम भएको बताए।

एक वर्षको अवधिमा सो केन्द्रले पाँच जनालाई कानुनी दायरामा ल्याएको समेत जानकारी दिँदै भट्टराइले दुई जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, दुई जनाविरुद्ध जबर्जस्ती करणी र एक जना विरुद्ध मावन बेचबिखन र जबर्जस्ती करणीमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा मुद्दा दर्ता गरेको जानकारी दिए।

‘हामीलाई भारत लगेको सूचना आएपछि त्यहाँको प्रहरीसँग कागजात मिलाउनेदेखि विभिन्न नीतिगत समस्या देखिएको छ’, उनले भने। शान्ति पुनःस्थापना केन्द्र, बाँकेका संयोजक निर्मल सुवेदीले जमुनाह नाकाबाट मात्रै छ युवतीको उद्धार गरेको जानकारी दिए। भारतको उत्तर प्रदेशको उन्नाउ, लखनउ र हिमाञ्चलको सिमलाबाट उनीहरुको उद्धार गरिएको थियो।

उनले नयाँ-नयाँ रणनीति अपनाएर मानवबेचबिखनको कार्य भएको उल्लेख गर्दै मुस्लिम समुदायले लगाउने बुर्का लगाएर, नेटवर्किङ बिजनेसको नाममा युवतीलाई भारत पुर्याइएकाे बताए। ‘यसको ठूलो जालो छ, पत्ता लगाउन सजिलो छैन’, जिल्ला संयोजक सुवेदीले भने।

प्रतिक्रिया दिनुहोस्

Array