त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिंदै

माण्डवी न्युज
माण्डवी न्युज २२ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ ।

भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने छ । सो प्रयोजनका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसमध्ये टर्मिनल भवन र टावर निर्माणमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । हेलिप्याण्ड निर्माणका लागि भने १५ करोड रुपैयाँ विनियोजन भएको थियो । प्राधिकरणका अनुसार हेलिप्याड निर्माण यसै वर्ष सम्पन्न हुनेछ ।

त्यसपछि अहिले त्रिभुवन विमानस्थलबाट भइरहेको हेलिकप्टरको उडान/अवतरण अब नलिनचोकमा सर्नेछ । यात्रुले समेत सोही स्थानमा पुगेर हेलिकप्टर चढ्न पाउनेछन् । टर्मिनल भवन र टावरको कामलाई भने बहुवर्षीय आयोजनामा राखिएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा भइरहेको जहाजहरुको चाप घटाउन यो संरचना सहयोगी हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट पार्किङ वे नजिकै हेलिकप्टरहरुको पार्किङ भइरहेको छ ।

प्राधिकरणका अनुसार नयाँ बन्ने हेलिप्याण्डमा दुई दर्जन हेलिकप्टर एकै पटक बिसान गर्न सम्भव हुनेछ । अहिले प्राधिकरणले अनुमति लिएको बखत जुन विमानस्थललाई आधार मानिएको छ, सोही विमानस्थलमा हेलिकप्टरको बिसौनी गर्न निर्देशन दिएको छ ।

सोही अनुसार कतिपय हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुले बिसौनी पोखरा र नेपालगन्जमा सारिसकेका छन् । काठमाडौंको हकमा अब बिसौनी नलिनचोक बन्ने छ ।

नयाँ हेलिप्याण्डमा इन्धनको सुविधा, आगलागीसहित आकस्मिक उद्धारका उपकरण, यात्रुका लागि टर्मिनल, हेलिकप्टर कम्पनीका कार्यालय तथा हेलिकप्टर मर्मत गर्न मिल्ने ह्यांगरसहितका संरचना बन्ने भएको छ ।

हेलिकप्टरको बिसौनी भक्तपुर सरेपछि अहिले हेलिकप्टर बिसान भइरहेको स्थानमा प्राधिकरणले ठूला जहाज पार्किङ गरेर राख्न स्थान बन्ने छ । अहिले नेपालमा ११ वटा हेलिकप्टर कम्पनी दर्ता भई नियमित सञ्चालनमा छन् ।

यी कम्पनीसँग २९ वटा हेलिकप्टर रहेका छन् । दुर्गम भेगमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नु, पर्यटकको आगमन बढ्नु, दुर्गम भेगमा विकास निर्माणका गतिविधि बढ्नु र विपद् तथा आकस्मिक स्वास्थ्य समस्याका बेला बढ्दो मागले नेपालमा हेलिकप्टर विजनेश फस्टाउने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

Array